Thursday, June 6, 2013

यी हुन् नेपाली मूलका नटवरलाल !

२३ जेठ, पोखरा । नेपाली समाजमा अपराधी पनि अचम्मकैभेटिन थालेका छन् ।
पोखरामा युवतीलाई मोडेल बनाइदिने नाममा सम्पत्ति लुटेका एक अपराधी अझै
जेलको कहर काटिरहेका छन् । अहिले फेरि अर्का नटवरलाल समातिएका छन् ।
यिनको कामचाँहि युवतीहरुको धनमाल लुट्नु नभई विभिन्न युवतीका परिवारलाई
फकाएर मागी बिहे गर्दै हिँड्नु हो । तर,दुईसाताअघि मानवबेचबिखनको कसुरमा
प्रहरीले च्याप्पै समातेपछि बिचराको गोरखधन्दा केही समयलाई रोकिएको छ ।
अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले जेलमै युवती निहिता विश्वाससँग
प्रेमविवाह गरेजस्तै यी ४७ वर्षीय नटवरलाल श्याम महतले पनि शोभराजकैजस्तो
दक्षता देखाएका छन् ।
जेलबाटै यसरी पट्याए बीए पढ्ने केटी
पूर्वीनेपालकी एक युवती मकवानपुरको भिमफेदी कारागारमा आफ्ना दाइ
पि्रतेलाई भेट्न जाने गर्थिन् । २७ बर्षीय ती युवती बीए प्रथम वर्षमा
अध्ययनरत थिइन् । उनका दाइ पि्रते भीमफेदी जेलमा कर्तव्य ज्यान मुद्दाको
सजायँ काटिरहेका थिए । ती युवती महिनाको एकपटक दाइलाई कारागार जान्थिन् ।
त्यहीबेला कारागारमै पि्रतेसँगै सिनोमाका 'भिलेन'जस्तै देखिने यी श्याम
महत फेला परे ।
काभ्रेपलान्चोकको पनौती-४ घर भएका महत राजस्व चुहावट, ठगी र भन्सार छलीको
आरोपमा भीमफेदीमा जेल जीवन बिताइरहेका थिए । यसैवीच पि्रते र महतवीच
जेलमा राम्रो सम्बन्ध कायम भयो । उनीहरु दुईवीच घरपरिवारका बारेमा पनि
कुराकानी हुन थाल्योे । युवती दाजुलाई भेट्न आउँदा महतसँग पनि परिचय भयो
। एक दुईपटकको भेटपछि महतले युवतीलाई आफूसँग आकषिर्त गराए । पटक-पटकको
भेट अनि कुराकानीले उनलाई आफ्नो दाजुभन्दा महतको चासो बढी हुन थाल्यो ।
महिनामा एकपटक दाजु भेटन जाने उनी हप्ताको एकपटक मीठो खानेकुरा बोकेर
कारागार धाउन थालिन् ।
यसैवीच एक दिन कसैले नसोचेको घटना भयो । ती युवतीले आफैले महतसँग प्रेम
प्रस्ताव राखिन् । उनको प्रस्ताव महतले नस्वीकार्ने कुरै थिएन । त्यसपछि
उनीहरुका लागि कारागार नै सुरक्षित डेटिङस्थल बन्न थाल्यो । उनीहरुको यो
डेटिङलाई प्रहरीले रोक्न सकेन । बन्दी भेट्ने समयमा ती युवती आउँथिन् र
महतसँग प्रेमालाप गर्थिन् ।
उनीहरुको प्रेम सम्बन्धलाई बिहेको रुप दिन युवतीले आफ्नो घरमा कुराकानी
गरिन् । महतले पनि उनका दाइ पि्रतेलाई आफू एक्लो रहेको र काठमाडौंमा
घरसहितको ८ रोपनी जग्गा रहेको भन्दै बहिनीका लागि फकाउन थाले । महतले ०६३
सालमा अफ्नो परिवारसँगै श्रीमती पनि दुर्घनामा परी मृत्य भएको र आफू
नितान्त एक्लै रहेको बताए । पि्रतेले सबै कुरा सुनेपछि बहिनी र महतको
सम्बन्ध स्वीकार गरे । युवतीको परिवारका अन्य सदस्य पनि काठमाडौंमा घर छ
भनेपछि राजी भए ।
महतको सजायँ पुरा हुन अझै डेढ बर्ष बाँकी थियो । तर, युवतीले वकिल लगाएर
गत माघ ५ गते महतलाई कारागारबाट निकालिन् । त्यसपछि माघ महिनामै उनीहरु
वैवाहिक बन्धनमा बाँधिए ।
पोखरामा अर्को नाटक
एक महिनाको बसाइपछि चैत्रमा ती युवतीलाई माइत पठाएर महत कामका लागि भन्दै
पोखरा हानिए । भारतका नामूद ठग नटवरलालजस्तै मीठो र नम्र बोली बोल्ने
महतलाई पहिलोचोटि देख्नेले ठग होलान् भनेर पत्याउने कुरै थिएन । यसैवीच
पोखरा आएपछि उनले कास्कीकोटकी एक युवतीलाई पुनः आफ्नो जालमा पारे । जसरी
मकवानपुरको भीमफेदी कारागारमा युवतीका दाइ र परिवारलाई झुटो कुराले फकाए,
उनले कास्कीमा पनि अर्की निर्दोष युवतीका परिवारलाई पनि त्यही सूत्र
प्रयोग गरे ।
शुरुमा महतले युवतीका दाइसँग चिनजान गरे । सामान्य चिनजानपछि उनका दाइलाई
आफूले छिटै विवाह गरेर श्रीमती अमेरीका लैजाने भन्दै केटी खोजिदिन आग्रह
गरे । युवतीका परिवार पनि आफ्नै छोरीचेलीको बिहे गरिदिने विचारमा थिए ।
महतले आफ्नो परिवार र श्रीमतीको दुर्घघटनामा मृत्यु भएको, आफू अमेरीकाबाट
आएको र नेपालमा आफ्नो धेरै सम्पत्ति रहेको भन्दै युवतीको परिवारलाई
प्रलोभनमा पारे ।
यस्तो केटा पाए ठिकै हुन्छ भनेर युवतीका परिवारले महतसँग बिहे गराइदिने
कुरा चलाए । उनीहरुको बिहे हुने पक्का भयो । त्यसपछि युवतीका परिवारले
विन्ध्यवासिनीबाट बिहे गरेर दिने निर्णय गरे । तर महतले आफ्नो पहिली
श्रीमती पनि त्यहीँबाट बिहे गरेर लगेको भन्दै अर्कै मन्दिरमा बिहे गर्ने
प्रस्ताव राखे । महतको प्रस्ताव सहजै स्वीकार्दै उनीहरुको बिहे गत वैशाख
३ गते कास्कीको हेम्जास्थित शिवमन्दिरबाटगरिदिए । महतले बिहे गरेको ५
दिनसम्म ती युवतीलाई पोखरामै राखे ।
भारतबाट अमेरिका !
गत बैशाख ९ गते काठमाडौबाट अमेरिका जाने भन्दै महतले ती युवतीलाई लिएर
उनका परिवारसँग बिदा मागे । तर, पृथ्वीचोकमा आएपछि महतले काठमाडौंमा
कागजपत्र मिलेन, त्यसैले भैरहवा हुँदै भारतबाट अमेरिका जाने कुरा
युवतीलाई सुनाए । युवतीले पनि पत्याइन् । बस छुट्ने बेलामा युवतीले घरमा
एकपटक फोन गर्छु भनिन् तर महतले फोन गर्न दिएनन् ।
घरमा फोन गर्न किन नदिएको होला भन्दै युवतीको मनमा शंका बढ्न थाल्यो ।
चितवनबाट बुटवल जाने क्रममा बाटोमा पिसाव फेर्न बस रोकेपछि ती युवतीले
मौका छोपेर पोखरामा आफ्नो दाजुलाई फोन गरिन् । त्यसपछि दाइहरु ट्याक्सी
लिएर हाकिँदै बुटवलतर्फ लागे । युवतीले केही घण्टापछि आफू बुटवल नजिकै
मंगलापुरको एक ग्यारेजमा रहेको भन्दै दाइलाई फोन गरिन् । दाइहरु त्यहीँ
पुगे । उनीहरु आएको देखेर महत भागे । युवती आफ्ना दाइसँगै पोखरा फर्किइन्

नटरलाल फेरि पक्राऊ
गत जेठ ५ गते महतलाई कास्की प्रहरीले पक्राउ गरेको छ भनी ती युवतीका
परिवारले जानकारी पाए । होकि होइन भन्दै बुझ्न आउँदा तिनै महत नै रहेछन्
। त्यसपछि युवतीले जेठ ७ गते महतविरुद्ध मानववेचविखनको जाहेरी दिइन् ।
महत अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको
कास्की प्रहरी जनाएको छ ।
यो त भयो प्रहरीले पत्तो लगाएको नटवरलालको गोरख धन्दा । यसअघिको उनको
ठगीसम्बन्धी कला भने अझैसम्म बाहिर आइसकेको छैन ।source onlinekhabar.com

No comments:

Post a Comment