आइतवार साँझ म सधैंझैं काममा व्यस्त थिएँ । करिव साढे ९ बजेतिर
जोहोरबारुको पासिरगुडाङमा रहेको एक होष्टलमा नेपालीमाथि सांघातिक आक्रमण
भएको हल्ला चल्यो । त्यो क्षेत्रमा रहेका मेरा साथीहरुलाई सम्र्पक गरेँ ।
अनि आक्रमण भएको होष्टलकै साथीहरुको नम्बर लिएर मैले धमाधम फोन लगाउन
थालेँ ।
धेरैले फोन उठाएनन्, जतिले उठाए एकदमै डराएको र मसिनो स्वरमा 'अहिले कुरा
गर्न मिल्दैन' भन्दैफोन राखिदिए । खास के भएको हो ? तपाईहरुको अवस्था के
छ भनेर सोध्दा उनीहरुले होष्टलमा मलेसियन युवाहरुको ठूलो समूहलेआक्रमण
गरिरहेको र आफूहरु ट्वाइलेट र खाटमुनि लुकेर बसिरहेको बताए ।
साथीहरु कति घाइते भए, कत्तिका अवस्था गम्भीर छ, हल्ला गरेजस्तो हताहती
भयो कि भएन भनेर मैले बुझ्न खुब कोसिस गरेँ,तर कतैबाट पनि जानकारी भएन ।
क्वालालम्पुरसहित अन्य ठाउँका साथीहरुले रातभर के भएको हो भनेर सोधिरहे,
बिहानैसम्म सुतिएन । हामीले जति बुझ्न खोजे पनि नेपालीहरुको वास्तविक
स्थिति थाहा भएन ।
कोही अस्पतालमा, कोही हिरासतमा
म बसेको ठाउँबाट घटना भएको होष्टल पुग्न गाडीमा करिव आधा घण्टा लाग्ने भए
पनि त्यहाँ पुग्ने हिम्मत भएन । जानकारी लिन खोजेर पनि हामीले पाउने
थिएनौं । त्यसका लागि त दूतावासकै प्रतिनिधि जरुरी हुन्थ्यो । बिहान
करिव ९ बजेतिर क्वालालम्पुरस्थित नेपाली राजदूतावासबाट द्वीतीय सचिव चक्र
सुवेदी आइपुग्नुभयो । म पनि उहाँकै साथमा सुल्तान अस्पताल पुगेँ । त्यहाँ
दुईजना गम्भीर घाइते नेपालीहरु उपचार गराइरहेको अवस्थामा हामीले भेट्यौं
।
जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४
नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको रहेछ । साहुको दुबै
हातखुटटा र भाँचिएको र टाउकोमा चोट लागेको रहेछ । उनी बोल्न नसक्ने
अवस्थामा थिए । राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ ।
चक्र सर र मैले दुबैजनाको तस्वीर लियौं । राजु बोल्न सक्ने अवस्थामा थिए
। उनले घटनाबारे सामान्य जानकारीदिए । त्यसपछि हामी त्यहीं नजिकै रहेको
एक क्लिनिकमा गयौं । त्यहाँ कम्पनीले नै केही नेपालीलाई उपचार गर्न
ल्याएको सूचनाका आधारमा पुगेका थियौं ।
त्यहाँ एकजना नेपाली टाउकोमा चोट लागेको अवस्थामा भेटिए । सामान्य
उपचारपछि उनी होस्टल फर्किने सुरसारमा रहेछन् । आफु काममा फर्किन तयार
रहेको र गम्भीर बिरामी नभएकाले आफ्नो नाम कतै नखुलाइदिन उनले आग्रह गरे ।
मेरा घर परिवारले चिन्ता गर्छन्, मेरो परिचय नखुलाइदिनुस, म सामान्य
अवस्थामै छु भन्दै उनले आग्रह गरे । चक्र सरले उनीसँग पनि घटनाबारे
सोधपुछ गर्नुभयो ।
अझै पनि वातावरण पूरै आक्रान्त थियो । जताजतैबाट मलाई फोन आइरहेको थियो ।
क्वालालम्पुर र काठमाण्डौमा रहनुभएका साथीहरुले ६ जनाको मृत्यु भयो रे
कतिको शव भेट्नुभयो भन्दै फोन गरिरहेका थिए । तर, हामी केही भन्न सक्ने
अवस्थामा थिएनौं । हामी घाइते भेटिएका दुई जनाको विवरण नेपाली दूतावासमा
टिपाएर घटनास्थल पासिरगुडाङ प्रहरी स्टेशनमा पुग्यौं ।
परिचय दिनासाथ प्रहरीले चक्र सरलाई घटनाबारे विस्तृत जानकारी दियो । घटना
भएको थाहा पाएपछि तुरुन्तै प्रहरी परिचालन गरिएको र हवाइ फायर गरेर
स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । 'हाम्रो
नियन्त्रणमा १२ जना छन, त्यसमध्ये ९ जना नेपाली छन्' स्थानीय प्रहरी
कमाण्डरले भने- 'अहिले उनीहरुलाई हिरासतमा राखिएको छ, भोलि १० बजे
भेटाइदिनसक्छौं ।' नियन्त्रणमा लिइएकामध्ये एकजना नेपालीलाई सामान्य
उपचारपछि हिरासतमा राखिएको रहेछ ।
प्रहरीले नेपालीमाथि आक्रमण भएको हो कि दोहोरो झडप भएको हो यकिन बताएन ।
अनुसन्धान जारी रहेको उसले चक्र सरलाई जानकारी दियो । हामीले कतिजना
नेपाली मरेका हुन् भनेर सोध्यौं, तर, प्रहरीले घटनामा कोही पनि मरेको
जानकारी नभएको बतायो ।
तर, बाहिर ६ जनाको ज्यान गएको हल्ला चलेको थियो । नेपालमा म्यानपावरहरु
तोडफोड हुनसक्ने भन्दै पासपोर्ट लुकाउन थालिएकोसूचना आएको थियो । नेपालका
अधिकांश पत्रिकाले नेपालका परराष्ट्रमन्त्रीलाई हवाला दिंदै ६ जनाको
ज्यान गएको समाचार प्रसारण गरेछन् । तर, मैले क्वालालम्पुरमा रामचन्द्र
नेपाल र काठमाडौं अफिसका सरहरुलाई मिनेट मिनेटकोसूचना दिँदै मृतक
नभेटिएको जानकारी दिइरहेको थिएँ । त्यसैले हामीले दिएको समाचारमाचाँहि
मृत्युको कुरा गएन ।
घटनास्थलको विवरण
पुलिसले हामीलाई स्कर्टिङ गरेरघटनास्थल लग्यो । त्यहाँ पुग्दा वातावरण
एकदमै सन्नाटा थियो । त्यहाँ धेरै पुलिस तैनाथ थिए । हामीले कसरी घटना
भयो, कति घाइते भए भनेर प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुबाट जानकारी लिन
प्रयास गर्यौं । धेरै साथीहरु विक्षिप्त र त्रसित अवस्थामा थिए । उनीहरु
बोल्न पनि डराइरहेका थिए ।
हामीले होस्टलको निरीक्षण गर्यौं । झ्यालका सबै सिसा फुटेका थिए, कोठामा
राखिएका टेलिभिजन पनि फुटेका थिए, कपडा च्यातिएका थिए । भुँइमा रगतका
टाटा देखिन्थे । होस्टलमा भर्खरै ठूलै लडाइँ सकिएको जस्तो देखिन्थ्यो ।
मलेसिया सरकारको यो होस्टलमा त्यस वरपर रहेका चारवटा कम्पनीमा कार्यरत
नेपाली कामदार बस्ने रहेछन् । घटना भएपछि बिहानै तीन वटा होस्टलका
नेपालीलाई कम्पनीले अन्यत्र नैसारिसकेछ ।
त्यहाँ भेटिएका नेपालीहरुले बताएअनुसार राति करिव ८ बजेतिर चार व्यक्ति
मोटरसाइकलमा आएर नेपालीहरुमाथि आक्रमण थालेका रहेछन् । उनीहरुलाई
नेपालीले समातेर पिटेछन । ज्यान जोगाएर भागेका उनीहरु पछि ५० जनाजति
स्थानीय युवा लिएर आक्रमण गर्न आएछन् । त्यसपछि १ सय जना र पछि अर्को
चरणमा सय जना गरी करिव साढे २ सय जनाले नेपालीमाथि आक्रमण गरेका रहेछन् ।
नेपालीहरुले हल्का प्रतिरोध गरे पनि मलेसियनहरुले नराम्रोसँग पिटेछन् ।
साथीहरु ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्थामा पुगेछन् । उनीहरुले तरवार,
रड र घरेलु हतियार लिएर होस्टलमा आक्रमण गर्न थालेका रहेछन । केहीवेरपछि
पुलिस आएर उनीहरुलाई नियन्त्रणमा लिएछ । त्यसका लागि हवाइ फायर पनि
गर्नुपरेको उनीहरुले बताए ।
आक्रमणपछिको स्थिति
झडपपछि घाइतेलाई अस्पताल पुर्याइएछ भने प्रहरीले ९ जनालाई पक्रिएछ ।
स्थिति शान्त भएपछि पनि साथीहरु नभेटिएपछि होस्टलमा रहेका नेपालीहरुले
१२जना नेपाली हराएको भन्दै साथीहरुलाई खबर गरेछन् । उनीहरुका हिसाबले ती
साथीहरु हराएको ठिकै हो । किनभने ९ जनालाई पुलिसले नियन्त्रणमा लिएछ, तीन
जना घाइतेहरु अस्पताल लगिएछन् । हामीले पक्राउ परेका र अस्पतालमा रहेका
नेपालीहरुकोनाम सूची सुनाउँदै यी साथीहरुको अवस्था यस्तो पाइयो भनेपछि
होस्टलमा रहेका नेपालीहरुले भने- 'उनीहरु भेटिए भने त कसैको पनि ज्यान
गएको रहेनछ ।'
यति कुरा सुनेपछि हामी पनि शान्त भयौं । होस्टलमा रहेका, पुलिसको
नियन्त्रणमा रहेका र घाइते भएर उपचार गराइरहेका नेपालीहरुको विवरण
दुरुस्त आयो। कसैको पनि हताहती भएको रहेनछ भन्ने निस्र्कष निकाल्न अब
हामीलाई केही पनि गाह्रो भएन ।
धन्य, जे सुनिएको थियो, त्यस्तो अपि्रय केही पनि सुन्नु परेन । देख्दा
अवस्था हृदयविदारक नै छ होष्टल क्षेत्रको । त्यहाँ कति ठूलो भिडन्त भएको
रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । साथीहरु भाग्यवस बाँचेछन्, नत्र
धेरै क्षति बेहोर्नुपर्नेरहेछ । स्थानीय प्रहरीले समयमै हस्तक्षेप गरेका
कारण ठूलो क्षति टरेको देखियो ।
आखिर किन भयो झडप ?
हुलका हुल मलेसियन आएर नेपालीमाथि आक्रामण गर्नुपर्ने कारण के हो ?
हामीले दिनभर त्यसको पनि खोजी गर्यौं । प्रहरीले आइतवार बिदाको दिन
भएकाले नेपालीहरुले पहिले रक्सी पिएर सामान्य विवाद गरेको र पछि
मलेसियनहरु पुगेर आक्रमण गरेको प्रारम्भिक अनुमान सुनायो ।
त्यहाँ रहेका नेपालीहरुले अन्यकेही पाटोबारे पनि खुलाए । नेपाली
केटाहरुले स्थानीय मलेसियन केटी जिस्काएको र त्यसबाट रिसाएका मलेसियन
युवाले हुल बाँधेरै पिटेको केहीले निस्र्कष निकाले ।
मलेसियाको सो क्षेत्रमा रहेका नेपाली युवतीहरुका कारण पनि बेलाबेला
मनमुटाव हुने गरेको र त्यसकै कारण पनि आक्रमण भएको हुनसक्ने अर्काथरिको
अनुमान थियो ।
के कारणले आक्रमण भएको थियो भन्ने यकिन हुन नसके पनि त्यसमा धेरै थोरै
नेपालीहरुको पनि दोष थियो भन्ने निचोड निकाल्न कठिन भएन । तर, त्यो
दोहोरो झडप नभई विशुद्ध मलेसियनहरुको सांघातिक आक्रमण थियो भन्ने त्यहाँ
रहेका कामदारहरुको भनाइछ । फेरि आक्रमण हुन सक्ने त्रासकामदारहरुमा थियो
। त्यसैले दूतावासका द्वीतीय सचिव चक्र सुवेदी सरले रोजगारदाता र
प्रहरीलाई तत्कालै होस्टल सार्न आग्रह गर्नुभएको छ ।
रिहाइको प्रयास
दिनभर दौडधुपपछि हामीले राति करिव साढे ७ बजेतिर मात्र खाना खायौं । भोलि
१० बजे सुबेदी सर प्रहरीकहाँ जानुहुनेछ । उहाँलेनियन्त्रमा लिइएका सवै
नेपालीसँग भेटेर थप जानकारी लिनुहुनेछ । उनीहरुमाथि सांघातिक आक्रामण
भएकाले कुनै कारवाही नगरी रिहा गर्न सुवेदी सरले आग्रह गर्ने बताउनुभएको
छ । तर, यतिबेलासम्म मलेसियामा ६ जना नेपालको मृत्यु भएको भन्ने हल्ला
पनि निदान भएको छ । बिहानैमृत्युको अपुष्ट खबर दिने नेपालको परराष्ट्र
मन्त्रालय रकेही नेपाली मिडियाहरुले पनि त्यसलाई सच्चाइसकेका छन ।
मलेसियामा श्रमिक जीवन बिताइरहेको र आंशिकरुपमा नेपाली समुदायमा सक्रिय
रहेर पत्रिकारिता पनि गरिरहेको मलाईआजको दिन भने निकै तनावपूर्ण रह्यो ।
(तामाङ मलेसियाको जोहोरबारुस्थित अनलाइनखबर सम्वाददाता हुन् )
http://www.onlinekhabar.com/2013/03/54776/
No comments:
Post a Comment