Tuesday, March 26, 2013

माओवादीमा नलाग् भन्दै राष्ट्रपतिद्वारा धम्की

राष्ट्रपतिका 'नाति' भन्छन् - शीतलनिवासमा नयाँ पारस जन्मिए
१४ चैत, काठमाडौं । अरुलाई चुनाव लागोस् या नलागोस्, राष्ट्रपति डा.
रामवरण यादव र एमाओवादी अध्यक्ष प्रचण्डलाई भने गज्जबले चुनाव लागेको छ ।
नत्र प्रचण्डले राष्ट्रपतिको गृहजिल्ला धनुषामा जसका घरमा गएर खाना खाए,
तिनै व्यक्तिलाई राष्ट्रपतिजस्तो सम्माननीय मान्छेले शीतलनिवासबाटै फोन
गरेर 'ओइ नाति तँ माओवादीमा नलाग्,मर्छस्' भन्नै पर्ने थिएन ।
धनुषाको महेन्द्रनगरमा शुक्रबार प्रचण्डलाई घरैमा बोलाएर दलबलका साथ
एमाओवादीमा प्रवेश गरेका तरुण दलका विजय यादवलाई राष्ट्रपति डा. रामवरण
यादवले टेलिफोनबाट धम्की दिनुभएको छ । राष्ट्रपति र उहाँका आफन्तले किन
कांग्रेस छाडिस् भन्दै हैरान पारेपछि विजयले आफ्नो मोबाइलको सिमकार्डसमेत
परिवर्तन गर्नुपरेको छ ।
'तिमी गलत पार्टीमा लाग्यौ, माओवादीले फेरि युद्ध गर्छ, तिमी मर्छौ ।'
राष्ट्रपतिले टेलिफोनमा भनेको उद्धृत गर्दै विजयले अनलाइनखबरसँग
भन्नुभयो- 'तिमी राम्रो केटा थियौ, भविश्यमा केही गरौला भन्ने सोचेको
थिएँ । चुपलागेर बस म पैसा दिन्छु, बच्चा पढाऊ, जिल्लामा मेरो छोरोलाई
सघाऊ ।'
आफूले कांग्रेस परित्याग गरेर एमाओवादीमा लाग्नासाथ राष्ट्रपतिले आफू र
आफ्ना परिवारका सदस्यलाई समेत फोन गरेर रामवरणले हैरान पारेको विजयको
गुनासो छ । 'पहिले पनि मेरो छोरोलाई सहयोग गर् भन्दै शीतलनिवासमै बोलाएर
धम्की दिने र कहिले पैसा दिने प्रयास गर्नुहुन्थ्यो, मैले मानिँन ।'
विजयको भनाइ छ-'घरैमा बोलाएर छोरा चन्द्रमोहनले ५० हजार दिन खोज्नुभएको
थियो ।'
को हुन् विजय ?
संविधानसभाको चुनावमा धनुषा ५ मा उपनिर्वाचन हुँदा विजय राष्ट्रपति पुत्र
डा. चन्द्रमोहनको बागी उमेद्वार बन्नुभएको थियो । जिल्ला पार्टीले
स्थानीय कांग्रेस नेता मोहन माथेमालाई उमेद्वार बनाउन खोज्दा
राष्ट्रपतिले पेलेर आफ्नो छोरालाई उमेद्वार नबनाएको भए धनुषामा
कांग्रेसको अवस्था राम्रो हुने विजय बताउनुहुन्छ । 'अहिले फेरि चुनाव
आएको छ, धनुषामा अझै कांग्रेसलाई बचाउने हो भने पार्टीले राष्ट्रपतिका
छोरालाई हैन, माथेमालाई उमेद्वार बनाएर देखाओस् ।' विजय भन्नुहुन्छ-
'धनुषामा अर्को पारस जन्मिएको छ, मेरो छोरोलाई समर्थनगर् भन्दै
राष्ट्रपति आफैं टेलिफोन गर्दै छोराको पक्षमा लबिङ गरिरहनुभएको छ । धम्की
र पैसाको प्रलोभन दिइरहनुभएको छ ।'
विजय यसअघि तरुण दल धनुषाका पूर्वउपाध्यक्ष हुनहुन्थ्यो । कांग्रेसको
जिल्ला कार्य समितिका १७ मध्ये १५ जनाले राष्ट्रपतिपुत्रको विरोध गर्दै
विजयलाई उपचुनावमा बागी उमेद्वार बनाएका थिए । आफ्नो छोराविरुद्ध बागी
उमेद्वार बनेपछि आफूलाई रामवरणले त्यतिबेला पनि शीतलनिवास बोलाएर सेना
लगाउने धम्कीसमेत दिएको विजयको गुनासो छ । 'त्यतिबेला पनि शीतलनिवासमै
बोलाएर धम्की दिइयो । उहाँले आफ्नो छोरालाई नसघाए सेना लगाएर ठेगान
लगाउँछुसम्म भन्नुभयो ।' विजयको भनाइ छ-'तर, म झुकिँन ।'
स्थानीय स्तरमा सहकारी संस्था चलाएर बसेका विजय शुक्रबार सय भन्दा बढीको
दलबलसहित प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा पस्नुभएको हो । यादवलाई
पार्टीमा प्रवेश गराउन प्रचण्ड घरैमा पुगेका थिए । विजयलाई पार्टीमा
प्रवेश गराउने सोही कार्यक्रममा प्रचण्डले आफू मधेसबाट चुनाव लड्ने
बताउनुभएको हो । सो क्रममा आफूसँगै कांग्रेस नेता रामदेव यादवका छोरा
घनश्याम यादव, प्रेस युनियनका अजय साह र एमालेका रामचन्द्र यादवलगायत
एमाओवादीमा प्रवेश गरेको विजयको कथन छ ।
'नयाँ पारस'सँग लड्न एमाओवादीमा प्रवेश
तपाई किन एमाओवादीमा प्रवेश गर्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा विजयले
भन्नुभयो- 'वीपीबाबुले लोकतन्त्र आएपछि पनि सामन्त र
सुकिला-मुकिलाविरुद्ध लड्न बाँकी रहन्छ भन्नुभएको थियो, त्यसैले सामन्त र
नयाँ पारसहरुविरुद्ध लड्न प्रचण्डलाई घरैमा बोलाएर एमाओवादीमा लागेको हुँ
।' उहाँले भन्नुभयो- 'लोकतन्त्रमा आफूलाई मन लागेको पार्टीमा प्रवेश गर्न
पाइन्छ, आफूलाई लोकतन्त्रवादी भन्ने राष्ट्रपतिजस्तो व्यक्तिले फलाना
पार्टीमा नलाग् भनेर किन हप्काउने ?'
तपाई नाताले राष्ट्रपतिको नाति पर्नुहुन्छ रे त ? भन्ने प्रश्नमा यादवले
भन्नुभयो- 'उहाँका पछि लागे नाति भन्नुहुन्छ, पछि नलागे गुण्डा । नाताको
कुरा नगरौं, राजनीतिक कुरा गरौं ।'
डा. रामरण यादव राष्ट्रपति बनेपछि खालि रहेको धनुषा-५ मा कांग्रेसका
तर्फबाट उठेका डा. चन्द्रमोहन यादवले ६ हजार २७ मत प्राप्त गरी तेस्रो
स्थानमात्रै हासिल गर्नुभएको थियो । वीर अस्पतालको रेडियोलोजिष्टको जागिर
छाडेर सांसद र मन्त्री बन्ने रहरमा लागेका पुत्रलाई जिताउन पिता रामवरणले
भगिरथ प्रयास गर्नुभएको थियो । तर, राष्ट्रपतिले जितेको सो क्षेत्रमा
एमालेका रघुवीर महासेठले १३ हजार मत ल्याएर जित्नुभयो भने तमलोपाका
श्रीकृष्ण यादवले राष्ट्रपतिपुत्रले भन्दा झण्डै दोब्बर अर्थात् ११ हजार
९ सय मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियो । स्वतन्त्र उमेद्वार
विजयकुमार यादवको चुनाव चिन्हमा गाग्री २३ मत परेको थियो ।

No comments:

Post a Comment