Friday, May 17, 2013

दाताको मात्र आश नगर्न इयूको सुझाव

३ जेठ, काठमाडौं । नेपालका लागि यूरोपियन युनियनका राजदूत अलेक्जाण्डर
स्पाचिजले विकासका लागि दाताकोसहयोगमा मात्र आशावादी नहुन नेपालसँग आग्रह
गर्नु भएको छ । वित्तीय साक्षरता अभिवृद्धि विषयक एक गोष्ठीमा राजदूत
अलेक्जाण्डरले नेपाललाई इयूले खुला हृदयले सहयोग गरिरहेको उल्लेख गर्दै
दाताको सहयोगले मात्र विकास गर्न सकिंदैन भन्ने कुरा बुझ्न नेपाललाई
आग्रह गर्नुभयो ।
'दीगो विकास र अति कम विकसित अवस्थाबाट सुधारको अवस्थामा पुग्न नेपालले
विदेशी सहयोग लिनुपर्छ भन्ने कुरामा विवाद छैन', उहाँले भन्नुभयो, 'तर
विदेशी सहयोगले मात्र यो अवस्था हासिल गर्न सकिंदैन भन्ने नेपालले
बुझ्नुपर्छ ।' यसका लागि सहयोग लिने मुलुकले नेतृत्व, अपनत्व र नीतिगत
सुधारमा प्रतिवद्धता व्यक्त गर्नुपर्ने उहाँले बताउनुभयो ।
ईयूले नेपालको लागि ७ वर्षे विकास रणनीति तय गरेको र त्यो ग्रामीण विकास,
शिक्षा र सुशासनमा केन्दि्रत रहने जानकारी उहाँले दिनुभयो । यसैगरी
नेपालमा सावजनिक उत्तरदायित्व र पारदर्शितामा फड्का नमारी दीगो विकास
सम्भव नभएकाले यूरोपले त्यसका लागि विशेष जोड गर्ने उहाँले जनाउनुभयो ।
यूरोपियन युनियनले नेपाललाई अनुदानका साथै व्यापारिक कर्जासमेत प्रदान
गर्न थालेको र दुवै प्रकारको सहयोगलाई निरन्तरता दिने पनि उहाँले
बताउनुभयो । नेपाल सरकारलाई परियोजना सञ्चालनका लागि यूरोपियन
इन्भेष्टमेन्ट बैंकमार्फत नेपाललाई कर्जा सहयोग गर्ने गरेको उहाँले
बताउनुभयो । पहिलो व्यापारिक ऋण उक्त बैंकले नेपाल सरकारलाई ७० मेगावाटको
तनहुँ जलविद्युत आयोजनामा प्रदान गरेको छ । यस परियोजनामा यूरोपियन
इन्भेष्टमेन्ट बैंकले ५५ मिलियन यूरो अर्थात ७० मिलियन डलर ऋण दिने
सम्झौतागरेको छ । यस परियोजनामा एसियाली विकास बैंक, जाइका र अबुदुहबी
कोषले पनि लगानी गरेका छन् ।

No comments:

Post a Comment