Friday, July 19, 2013

'सिंहदरबारबाट मरिचमानको तस्बिर हटाऊ'

नयाँदिल्ली, श्रावण ५ - २०४६ सालमा जनआन्दोलनताकाका प्रधानमन्त्री
मरिचमानसिंह श्रेष्ठ फोक्सोको क्यान्सरबाट ग्रसित बनेर उपचार खोज्दा
'खर्चको अभाव भएको' विषय चर्को बहसको रूप लिएको छ । गुँडगाउँस्थित
मेदान्त अस्पतालमा उनका छोरा अनिल र रञ्जन बुवाको सेवासुसारमा नित्य
जुटेको भेटिन्छन् ।
कोही आफन्त, राजनीतिक हितैषी वा शुभचिन्तक छेउछाउमा नदेखिए पनि मरिचमान
घरपरिवार र सहयोग, सापटीका भरमा मेदान्तको उपचार खर्च जुटाइरहेको स्पष्ट
थाहा हुन्छ । 'दैनिक कम्तीमा ५० हजार भारु खर्च लाग्ने गरेको छ,' छोरा
अनिलले भने, 'स्थिति त्यति सहज भने छैन ।'
२०३३ अघिसम्म सल्यानको खलंगास्थित त्रिभुवन जनता माविमा प्रधानाध्यापक
रहेका मरिचमानसिंह श्रेष्ठ त्यसपछि पञ्चायती राजनीतिमा छिरेका थिए।
भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातक श्रेष्ठ राजा वीरेन्द्रको
'राजनीतिक गोटी' का रूपमा उपयोग भए पनि उनले लिएको 'राष्ट्रवादी र
स्वाभिमानी' धारबारे राजनीतिक दलका नेताहरू एकमतमा उभिएका छन् ।
पूर्वप्रधानमन्त्री श्रेष्ठलाई उपचार खर्च अभाव भएकोबारे समाचार आएपछि
एमाओवादी नेता बाबुराम भट्टराईले 'पूर्वप्रधानमन्त्रीको उपचारमा राज्यले
तत्काल निर्णय गर्नुपर्ने' भनी प्रस्ताव राखेका थिए । त्यसपछि मरिचमानका
पक्षमा साथ र सहयोगको भावना मुखरित हुन थालेको छ ।
'सिंहदरबारमा एउटा पूर्वप्रधानमन्त्रीको रूपमा झुन्ड्याएको श्रेष्ठको
तस्बिर त्यहाँबाट झिकिएको हो भने मात्रै उहाँमाथि राज्यको दायित्व नरहेको
अर्थ लाग्न सक्छ,' मरिचमान मन्त्रिमण्डलमा गृह राज्यमन्त्री रहेका
निरञ्जन थापाले कान्तिपुरसँग फोनमा भने, 'यहाँ कुनै पूर्वप्रधानमन्त्रीकी
पत्नीको नाक वा दाँतदुख्दा राज्यको खर्चमा विदेश लगिएको उदाहरण छ ।
कांग्रेस, एमालेदेखि राष्ट्रपतिसम्मको उपचार खर्च कुनै बहसबिना राज्यले
बेहोरेको छ, यसबेला अर्को एउटा पूर्वप्रधानमन्त्रीको नाममा किन यत्रो
विवाद ?'
मरिचमान मन्त्रिमण्डलमा सञ्चार र उद्योगमन्त्री रहेका रमेशनाथ पाण्डेले
पनि मुलुकको एउटा पूर्वप्रधानमन्त्रीले स्वास्थ्य उपचार गर्न नसकेर
मृत्युशय्यामा पल्टिरहेको स्थिति आफैंमा 'अशोभनीय' रहेको बताए । 'झन्डै
चार वर्ष मुलुकको प्रधानमन्त्री भएको व्यक्ति उपचारखर्च अभावमा केही
सहयोग आह्वान गरिरहेको अवस्थामा अस्पताल शय्यामा छ भने यसैबाट थाहा
हुन्छ, ऊ कति इमानदार थियो भनेर,' पाण्डेले फोनमा भने । एउटा राष्ट्रवादी
र इमानदार व्यक्तिमाथि मानवीय दृष्टि राख्दै राज्य दायित्वका हिसाबमा
समेत मरिचमानको उपचार खर्च सरकारले बेहोर्नुपर्ने तर्क पाण्डेको छ ।
२०४६ जनआन्दोलनताका छिमेकी भारतसँग भएको असहज सम्बन्ध र नेपाल- भारत
व्यापार सन्धिको कठिनाइका कारण महिनौंसम्म भारतबाट दैनिक उपभोग्य पदार्थ
नेपाल लैजान नाकाबन्ध स्थिति थियो । 'त्यो बेला राष्ट्रवादी कित्तामा
उभिएर थाइल्यान्ड, सिंगापुरबाट रातारात पेट्रोलियम पदार्थ विमान सेवाबाट
काठमाडौं उतारिएको थियो,' तत्कालीन गृह राज्यमन्त्री थापाले भने,
'तत्कालीन प्रधानमन्त्री मरिचमानको अडान र भारतसँग नझुक्ने नीतिका कारण
महिनौंसम्म आफ्नै बलबुतामाजनताको मागलाई सम्बोधन गरिएको थियो ।'
उनका अनुसार त्यसबेला प्रधानमन्त्री सहयोग कोषमा ७ लाख रुपैयाँ रहेकोमा
त्यो हरेक वर्ष खर्चनभएर राज्य कोषमा जाने गरेको थियो । 'मरिचमानले फजुल
खर्च वा सहयोग वितरणका लागि कहिल्यै कुनै काम गर्नु भएन,' उनले भने ।
छोरा अनिलका अनुसार राष्ट्रिय पञ्चायतको अध्यक्ष (२०३८- २०४३) मा निकै
पटक विदेश भ्रमण भए पनि प्रधानमन्त्रीकालमा मरिचमानले विदेश भ्रमण गरेका
थिएनन् ।
तत्कालीन गृह राज्यमन्त्री थापाले विचार र राजनीतिक धारणा नमिले पनि राजा
वीरेन्द्रले कांग्रेस नेता बीपी कोइरालालाई क्यान्सर उपचारका लागि
राज्यकोषबाट खर्च दिएको उदाहरण दिँदै मरिचमानको उपचारमा सरकारले तत्काल
ध्यान पुर्याउनुपर्ने बताए । छोरा अनिलका अनुसार घर छेउछाउमा बसोबास
बढ्दै गएपछि र अरू समस्या थपिएपछि केही वर्षअघिबाट कुखुरा पालनको काम
रोकिएको छ ।
७२ वर्षीय पूर्वप्रधानमन्त्रीलाई दोस्रो चरणको किमो हालै दिइएकाले
शुक्रबार भने स्थिति अझ जटिल बनेको थियो । ज्वरो अलिक बढेको र
दिसापिसाबका काममा सहयोग गरिरहनुपर्ने भएकाले छोरा अनिल साथै बसेका छन् ।
'आशा गरौं, शुभेच्छुकदेखि राज्य तहसम्म उपचारका लागि केही पहल भएमा
खर्चको अभाव नरहेकै अवस्थामा यहाँ उपचार सम्भव हुनेछ,' अनिललेभने ।
श्रेष्ठको मेदान्तमा उपचार भइरहेकोबारे दिल्लीस्थित नेपाली दूतावास पनि
बेखबर छ ।

No comments:

Post a Comment