Thursday, March 28, 2013

भुवन केसी एकाबिहानै खनाल निवासमा

१५ चैत, काठमाडौं । नेपाली सिनेजगतका सदावहार नायक भुवन केसी यसपालिको
संविधानसभा चुनाबदेखि राजनीतिमा आउने हुनुभएको छ । बिहीबार बिहानै एमाले
अध्यक्ष झलनाथ खनालसित डल्लुस्थित निवासमै पुगेर भेट गर्दै केसीले
एमालेमा सक्रिय भएर लाग्ने बताउनुभएको हो । 'आगामी संविधानसभा चुनावमा
मलाई पार्टीले उपयुक्त भूमिका दिएमा सहयोग गर्न तयार छु ।'केसीले खनालसित
भन्नुभयो-' तपाईलाई जिताउन म तपाईकै क्षेत्र गएर खट्नेछु ।'
झण्डै डेढ वर्षअघि माधव नेपालको हातबाट टीको लगाएर एमाले प्रवेश
गर्नुभएका कलाकार केसीले एमालेको नीति र विचार नै मुलुकलाई सही दिशामा
अगाडि बढाउने मार्ग भएको दाबीसमेत खनालसमक्ष गर्नुभयो । 'तपाईं र एमाले
पार्टीले लिएको राष्ट्रियताको लाइनले मुलुकको समस्या समाधानमा योगदान
पुर्याउन सक्छ' खनाललाई फुक्र्याउँदै केसीले भने-'अबको चुनावमा एमालेलाई
पहिलो पार्टी बनाउन म सबैथोक छोडेर लाग्नेछु ।'
मुख फोरेर नभने पनि कलाकार केसीले संविधानसभा चुनावमा आफूलाई समानुपातिक
तर्फबाट उम्मेद्वार बनाउन खनालसित अपेक्षा गरेको स्रोतले बताएको छ । 'अब
म राजनीतिमार्फत समाजसेवामा लाग्नेछु' केसीले खनालसित भन्नुभयो-'बाटो
बिराएर एमाओवादीमा प्रवेश गरेका कलाकारहरुलाई पनि एमालेको समर्थक बनाउन
प्रयास गर्नेछु ।'
प्रत्यूत्तरमा एमाले अध्यक्ष खनालले राजनीतिलाई सही दिशामा अगाडि बढाउन
कलाकारहरुको भूमिका पनि महत्वपूर्ण हुने भन्दै केसीलाई उपयुक्त
जिम्मेवारीप्रदान गर्ने वचन दिनुभयो । 'समग्र राजनीति र पार्टीमा समेत
तपाईंहरुजस्ता सफल कलाकारको खाँचो छ' खनालले भन्नुभयो-'अहिलेका युवा
पुस्तालाई चुनावमा आकषिर्त गर्न तपाईंहरुको भूमिका महत्वपूर्ण हुने
भएकाले मैले तपाईंको कुरालाई गम्भीररुपमा लिएको छु ।'

No comments:

Post a Comment