Thursday, April 25, 2013

बाबु आमाका सहरा बने २० इन्च युवराज

चितवन, वैशाख १३ - हेर्दा, विश्वकै होचा २१.५ इन्चका चन्द्रबहादुर डाँगी
जस्तै देखिन्छन्, भरतपुर-५ का युवराज कँडेल । २८ वर्षे युवराजको उचाइ २०
इन्च र तौल १८ केजी छ । शरीरले साथ नदिएर के भो र ? उनी स्वावलम्बी
जीवनयापन गरिरहेछन् ।
अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै गरेका युवराज आफू मात्र पढ्दैनन्,
विद्यार्थीलाई ट्युसन पनि पढाउँछन् । विश्वका चर्चित लेखकका पुस्तक
खोजी-खोजी पढ्छन् । सिरानीमा झमक घिमिरेको 'जीवन काँडा कि फूल' देखि
विभिन्न दर्शनका पुस्तकका चाङ छन् । 'विद्यार्थीको चाप बढेको छ,' ट्युसन
पढाउँदै गर्दा उनले कान्तिपुरसँग भने, 'कलेजको पढाइ कमजोर छ,
विद्यार्थीले ट्युसन नपढी पास गर्न सक्दैनन् ।' शिक्षाबिनाको जीवन आफैंमा
अपांग हुने भएकाले पढ्न र पढाउन लागिपरेको उनले सुनाए । पहिला आफ्नै
भाइबहिनी र छरछिमेकका विद्यार्थीलाई पढाउने गरेका उनको घरमा अहिले
टाढा-टाढाबाट पढ्न आउनेको भीड छ । 'पहिला उसलाई पाल्यौं, अहिले उसले
हामीलाई पाल्ने भएको छ,' युवराजकी आमा राधादेवीले गर्वका साथ भनिन्,
'हुर्काउँदाको दुःख र केही व्यक्तिले गरेको अपमान सम्झँदा आँसु झरिरहन्छ
।' ०४२ वैशाखमा जन्मिएका उनको शरीर विकास भएन ।
घाँटी तलको भाग सानो छ । कम्मरमाथिका अंग चले पनि त्योभन्दा मुनि चल्दैन
। हात साना छन्, खुट्टा गुटुमुटु परेका छन् । १० वर्षको उमेरसम्म उनको
उपचार जारी थियो । बुवा रामप्रसाद र आमा राधादेवीले निको पार्न सकिन्छ कि
भनेर धेरै खर्च गरे । रामप्रसादका अन्य १ छोरा र ३ छोरी भने सामान्य छन्
। 'छोरो हुर्काउन, पढाउन दुःख गरियो, अहिले धेरै पढेको देख्दा खुसी
लाग्छ,' राधादेवीले भनिन्, 'जन्मेदेखि यही छोराको माया धेरै लाग्यो ।'
युवराजलाई शौचालय लानेदेखि ओछ्यानमा राख्ने, कक्षामा पुर्‍याउने सबैकाम
बुवा-आमा, बहिनीहरू र भाइले गर्दै आएका छन् । सानो शरीर भएकाले सजिलै
बोक्न सकिन्छ । दिदी बेन्जु, बहिनीहरू लक्ष्मी र प्रमिला अनि भाइ
भोजराजका लागि उनी 'काखका नानी' हुन् । 'उसैलाई दूध खुवाउन भैंसी पालेका
छौं,' उनले भने । ०६१ मा एसएलसी र ०६४ मा प्लस टु पास गरेका उनले यही
वर्षशिक्षा संकायबाट अंग्रेजीमा स्नातक सकेर स्नातकोत्तरको अध्ययन थालेका
हुन् ।

No comments:

Post a Comment