Monday, April 22, 2013

प्रेम अस्वीकार गरेपछि प्रेमिकाको अनुहारमा एसिड !

१० वैशाख, हेटौंडा । हेटौंडामा एकजना भारतीय युवकले स्थानीय युवतीलाई
तेजाब आक्रमण गरेका छन् । आक्रमणलगत्तै फरार ती युवकलाई सोमबार रातिसम्म
पनिप्रहरीले पक्राउ गर्न सकेको छैन । हेटौंडा–२ पीपलबोटस्थित पसलमा
बसिरहेका बेला २० वर्षीया विन्दवासिनी कंसाकारमाथि तेजाब आक्रमण भएको
थियो । उनीमाथि तेजाब आक्रमण गर्ने भारतीय युवक राज केशरी भएको प्रहरीले
जनाएको छ । राज केशरी स्कुलरोडमा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए ।
विन्दवासिनी र राज केशरी आपसमा परिचित व्यक्ति भएको प्रहरीले जनाएको छ ।
विन्दवासिनीका दाजु शंकरले राज केशरी बेला–बेलामा आफ्नो पसलमा आइरहने
व्यक्ति भएको र उनैले बहिनीमाथि तेजाब आक्रमण गरेको बताए । 'म पसलमै
थिएँ, एक्कासि बहिनी चिच्याएको आवाज सुनें, हेर्न जाँदा बहिनीको अनुहारमा
तेजाब फ्याँकिएको थाहा पाएँ, राज केशरी भने पछि हेर्दै भाग्दैथ्यो,'
शंकरले भने । तेजाब आक्रमणको असर विन्दवासिनीको अनुहार र आँखामा देखिएको
छ । हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा सामान्य उपचारपछि उनलाई
काठमाडौं लगिएको छ । सो अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. रचना सिंहले
विन्दवासिनीको आँखाको डिल सुन्निएको र नानीमा कालो देखिएको बताइन् ।
उनलाई आँखा अस्पतालमा तेजाबको असर कम गर्ने औषधि प्रयोग गर्न लगाइएको
थियो । विन्दवासिनीका परिवारले प्रहरीसमक्ष राज केशरीमाथि किटानी जाहरी
दिएको छ, राजधानी दैनिकमा खबर छ ।
जाहेरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी गरे पनि पक्राउ गर्न सकेन ।
'घटनाको जानकारी पाएलगत्तै हामीले मोबाइल सिग्नलका आधारमा वीरगन्जसम्म
पछ्यायौं तर पक्राउ गर्न सकेनौं, उनी भारत पसेको हाम्रो अनुमान छ,'
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठले भने
।विन्दवासिनीमाथि एसिड आक्रमण गर्नुको कारण खुल्न नसके पनि उनीहरूबीचको
प्रेम सम्बन्धका कारण सो घटना हुन गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
'अनुसन्धानले विन्दवासिनीसँग राज केशरीको प्रेम सम्बन्ध भएको र पछि
अस्वीकार गरेकाले उनले तेजाबआक्रमण गरेको देखिन्छ,' प्रहरी उपरीक्षक
श्रेष्ठले भने ।

No comments:

Post a Comment