Friday, April 19, 2013

राष्ट्रपतिले चारपटक सत्ता कब्जा गर्न खोजे : बाबुराम

सानेपाबाट शीतलनिवासमाथि गम्भीर आरोप
६ बैशाख, काठमाडौं । एमाओवादी उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम
भट्टराईले आफू सरकारमा रहेका बेला राष्ट्रपति रामवरण यादवले ४ पटकसम्म
सत्ता कब्जाको असफल प्रयास गरेको आरोप लगाउनुभएको छ ।
डा. भट्टराईले आफ्नै निवास सानेपामा शुक्रबार केही सम्वाददाताहरुसँग कुरा
गर्ने क्रममा राष्ट्रपतिमाथि यस्तो आरोप लगाउनुभएको हो । आफू
प्रधानमन्त्री हुँदा राष्ट्रपति यादवले पटक-पटक सत्ता कब्जा गर्न खोजेको
बताउँदै भट्टराईले भन्नुभयो-'सरकार सचेत भएकाले उहाँको प्रयास असफल भयो
।'
राष्ट्रपति यादवले ०६९ जेठ १५ गते, साउन ७ गते, कात्तिकको पहिलो साता र
मंसिरको दोस्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको पूर्वप्रधानमन्त्री
भट्टराईको आरोप छ । जेठ १५ गते संविधान सभा विघटन भएपछि अवैधानिक भनेर
हटाउने तयारी गरेकोमा आफूले संविधानसभाको म्याद छँदै चुनावको मिति तोकेर
राष्ट्रपतिको प्रयास असफल पारेको उहाँले बताउनुभयो ।
त्यस्तै गत मंसिर ७ मा चुनाव गर्न नसकेको भनेर आफूलाई राष्ट्रपतिले हटाउन
खोजेको उहाँले बताउनुभयो । त्यसअघि कात्तिकको पहिलो साता प्रधानसेनापति
गौरव शमशेर राणालाई भेटेर राष्ट्रपतिले सत्ता कब्जा गर्न सहयोग मागे पनि
सेनापतिबाट सकारात्मक सहयोग नपाएको डा. भट्टराईले तर्क गर्नुभयो ।
पत्रकारसँगको भेटमा उहाँले काँग्रेस र एमालेले चुनाव नचाहेको आरोप
लगाउँदै आगामी चुनावमा विकास र आर्थिक एजेन्डालाई पार्टीले जोड दिने
बताउनुभयो ।

No comments:

Post a Comment