Tuesday, April 2, 2013

वाह ! नेपाली क्रिकेट समर्थक (फोटो फिचरसहित)

२० चैत, काठमाडौं । मंगलबार एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनलमा
यूएईविरुद्ध नेपालले जित हात पार्दा खेलाडीहरुमा जति खुसी छाएको थियो,
दर्शकहरुमा पनि त्यो भन्दा कम थिएन ।
खेल हेर्न खेल विहानैबाट दर्शकहरु त्रिवि क्रिकेट मैदान पुगेका थिए ।
दिउँसो सवा १ बजे खेल सुरु हुँदा स्टेडियम दर्शकले भरिएको थियो । नेपालको
राष्ट्रिय झण्डा बोकेका, अनुहारमा पोतेकादेखि शरीरमा नेपाल पेन्ट गराएका
थिए । खेल सुरु हुँदा १३/१४ हजार दर्शक उपस्थित थिए भने दर्शक आउने क्रम
खेल आधा हुँदा समेत रोकिएको थिएन् । क्यानका अनुसार मंगलबार मात्र ११ लाख
५८ हजारको टिकट विक्रि भएको छ ।
जब खेल सुरु भयो, नेपालले टस हारेर फिल्डिङको निम्तो पायो । नेपाली
बलरहरुको कसिलो बलिङ र फिल्डङमा दर्शकहरुको राम्रै साथ रहृयो । नेपालले
विकेट लिँदा दर्शकहरु नेपाल-नेपाल भनेर टोलीको हौसला बढाउँथे भने विपक्षी
टोलीले रन जोड्दा विकेट विकेट भनेर माग गर्थे ।
नेपालको चुस्त बलिङ र फिल्डिङपछि यूएई १ सय ३३ रनमा समेटियो । त्यसपछि
नेपाल १ सय ३४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रियो ।
आक्रमक व्याटिङ गर्ने प्रदिपको स्ट्राइकमा आउँदा दर्शकमा छुट्टै उत्साह
देखिन्थ्यो । छक्का र चौका प्रहार हुनासाथ दर्शकहरु यो जित कसको नेपालको
भन्दै खेलाडीहरुको हौसला बढाउँथे । नेपाली व्याट्सम्यान आउट भएर मैदान
छाड्दा दर्शकहरु उठेर ताली बजाउँथे । कप्तान पारस खड्का व्याटिङमा आउँदा
दर्शकहरुको निकै हौसिन्थे । दर्शकहरु पारस खड्का-छक्का पक्का भन्थे ।
खेलाडीको हौसला बढाउन मेक्सिनक वेभको झल्को दिने गरी हात हल्लाउँथे ।
नेपालको विकेट खस्दा दर्शकदिर्घामा सन्नाटा छाउँथ्यो ।
खेल अन्तिम २ ओभर मात्र बांकी रहँदा नेपालले १८ रन बनाउनु पर्ने दबाव
रहृयो । सबै दर्शकहरु आ-आफ्नो स्थानबाट उठे । विनोद भण्डारीले झक्का
लगाउँदा दर्शकहरु ठूलो उत्साह आएको थियो भने अन्तिम ओभरको पहिलो बलमा
पारसले २ रन जोडेपछि खेलाडीहरुसँग प्लेयर बक्सका साथै दर्शकहरुले खुसी
साटेका थिए ।
खेलपछि कप्तान पारसले दर्शकहरुको खुलेर प्रशंशा गरे । दर्शकको साथ पाउँदा
आफूहरुमा अर्कै उत्साह आउने बताए । उनले भोलि पनि दर्शकको साथ पाउने
अपेक्षागरे ।

No comments:

Post a Comment