Tuesday, April 2, 2013

बेंसीको पानी लेकमा पुग्यो

२० चैत,पाल्पा । झिरुबास-८, खाँदरमा सोलार प्यानलबाट विद्युत् उत्पादन
गरी बेंसीको पानी लेकमा पुर्‍याइएको छ । सोलार प्यानलबाट उत्पादित
विद्युत्ले १४९ मिटर सोझै माथिको डाँडामा पानी फालेको हो । खाँदरमा पानी
पुगेपछि एक गाग्री पानी ल्याउन घण्टौँ समय लगाएर बेसी र्झनुपर्ने बाध्यता
अहिले हटेको छ ।
सदरमुकाम तानसेनदेखि झन्डै ८० किलोमिटर पूर्वको झिरुबासमा सोलार
प्यानलबाट बिजुली उत्पादन गरेर बेंसीको पानी लेकमा फालेपछि झिरुबास-८,
खाँदरका ६९ घर परिवार वषर्ंैदेखिको पानीको पिरलोबाट मुक्त बनेका छन् ।
डाँडाको बस्तीमा पानीको मुहान नजिक नभएपछि गर्मीको समयमा
स्थानीयबासिन्दालाई पानीका लागि गाउँ नै चाहार्नुपर्ने अवस्था थियो ।
पानीको सुविधा भएपछि अहिले बालबच्चा समयमा विद्यालयमा जान पाउने भएका छन्
भने महिलाहरू फुर्सुदको समयमा तरकारीखेती गरी राम्रो आम्दानी गर्ने भएका
छन् । ग्रामीण समुदायमा आधारित, सौर्य पिउने पानी पम्पिङ योजनाअन्तर्गत
जिल्लामै पहिलोपटक यसरी लिफ्टिङ गरी पानी तानिएको हो । झिरुबासमा
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, क्षेत्रीय नविकरणीय ऊर्जा क्षेत्र
सेवा केन्द्र रेडाले स्थानीयको सक्रियतामा आयोजना सम्पन्न गरेकोहो ।
ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्की
सो आयोजनाले सबै गाउँलेलाई खुसी तुल्याएको बताउँछन् । कार्कीका अनुसार
दुर्गमवासीलाई खानेपानीको सुविधा भएपछि अब तरकारीखेती, भैँसीपालन, गाई
पालनमा समेत त्यहाँका किसानमा आर्कषण बढ्नेछ ।
सो आयोजना सम्पन्न गर्न रेडाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा
क्षेत्र सहयोग कार्यक्रमबाट रु १० लाख, जिल्ला विकास समितिले रु दुईलाख
५० हजार, कवुलियती वन तथा पशु विकास कार्यक्रमबाटरु चार लाख ७५ हजार,
झिरुबास गाविसले रु दुई लाख र उपभोक्ताबाट करिब रु दुई लाख प्राप्त भएको
थियो भने रु चार लाख २५ हजार बराबरको श्रमदान जुटाइएको थियो । रासस

No comments:

Post a Comment