Saturday, April 27, 2013

चुनावपछि एमाओवादी बत्ति बालेर खोज्नुपर्छः खनाल

१४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी
संविधानसभा निर्वाचनपछि एमाओवादी समाप्त हुने चेतावनी दिनु भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले एमाले नामको पार्टी नै नरहेको बताएको केही
दिनपछि खनालले अब माओवादीको युग समाप्त भएको घोषणा गर्नुभयो ।
'अब माओवादीको युग सकियो । उसमा जुन प्रकारको आकर्षण थियो, हिंसाको शक्ति
थियो । अब ती आतंकका युगहरु समाप्त भए' नयाँ वर्ष र लोकतन्त्र दिवसको
अबसरमा एमाले रामकोट गाउँ पार्टी कमिटीले शनिबार गरेको कार्यक्रममा
खनालले भन्नुभयो-'अघिल्लो संविधानसभा निवार्नचन पछि भदौको भेल भएर आएको
थियो । अब समाप्त हुँदै गएको छ । अबको निर्वाचनपछि कतो गो भनेर बत्ति
बालेर खोज्नुपर्छ ।' खनालले अबको चुनावमा माओवादीले बहुमत ल्याए अराजकता
र विखण्डनमा जान सक्ने चेतावनी समेत दिनुभयो ।
एमाले अध्यक्ष खनालले लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको
बताउनुभयो । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त
उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान निर्माणको कार्यलाई पूरा गर्न
जरुरी रहेको र त्यसका लागि संविधानसभाको निर्वाचनको विकल्प नरहेको उहाँले
बताउनुभयो ।
एमाले अध्यक्ष खनालले नेता कार्यकर्तालाई एकढिक्काभई निर्वाचनमा सहभागी
हुन निर्देशन दिनुभयो ।

No comments:

Post a Comment