Saturday, May 11, 2013

हरिद्वारमा हराएका हजुरबा यसरी भेटिए

फेला पार्नेलाई सम्मान र अबीरजात्रा
२९ बैशाख, काठमाडौं । चारधाम तीर्थ यात्रा गर्न १० दिनअघि आफन्त र
छिमेकीसँगै भारत गएका धादिङ नलाङ ६ का७५ वषिर्य यमनाथ तिमिल्सिना
शुक्रबार एकाएक बेपत्ता हुनुभयो । हरिद्वारमा श्राद्ध गर्ने क्रममा उहाँ
छुट्नुभएको थियो । सँगै गएका बृद्ध छुटेपछि तीर्थयात्री छटपटिए । अशक्त र
रोगी बृद्धलाई केही भयो कि भन्ने चिन्ता छायो । शुक्रबार मध्यान्न १२
बजेदेखि बृद्ध बेपत्ता भएपनि तीर्थयात्रीले यो खबर घरगाउँमा पुर्याएनन् ।
'सधैं झैं शुक्रबार पनि हामीलेतीर्थ गर्न गएका बाआमा र गाउँलेको हालखबर
के छ भनेर सोधीखोजीको लागि लगातार फोन गर्यौं, तर उठेन' यमनाथका छोरा शिव
तिमिल्सिनाले अनलाइनखबरसित भन्नुभयो-'शनिबार बिहान मात्रदाइहरुले बा
हराएको जानकारी दिनुभयो, हामी छाँगाबाट खसेझैं भयौं ।'
हराएका बृद्धलाई छिटै भेटिएला भनेर तीर्थयात्रीहरुले यसबारे घरपरिवारमा
जानकारी दिएका थिएनन् । 'शुक्रबार रातिसम्म भेटिएला भनेर हामीले केही
भनेनौं, चिन्ता होला भनेर त्यो रात फोन पनि उठाएनौं, तर शनिबार बिहान
भन्नै पर्यो' सँगै तीर्थ गएका यमनाथका भतिजा टंकनाथ शर्मा तिमिल्सिनाले
भन्नुभयो ।
तीर्थ गर्न गएका बृद्ध हराएको खबर पाए लगत्तै घरपरिवारमा रुवाबासी भयो ।
आफन्त र परिवारका अरु सदस्य खोजीको लागि सकृय भए । हरिद्वारमा रहेका
नेपालीहरुसँग सम्पर्क गरेर खोजीको लागि आग्रह गरियो । 'हामीले यहाँका
नेपालीहरु भेट्यौं, प्रहरी प्रशासन गुहार्यौं, माईकिङ गरेर गल्लीगल्ली
खोज्यौं' अर्का भतिजा रामप्रसाद तिमिल्सिनाले भन्नुभयो-'प्रहरीले त्यति
वास्ता गरेन, तर नेपालीहरुले धेरै सहयोग गर्नुभयो ।'
त्यहाँ रहेका नेपालीहरुको सहयोगमा खोजी कार्य तीव्र पारिएपनि हराएका
बृद्धलाई शनिबार दिनभरी भेटिएन । सँगै गएका मान्छे हराएपछि तीर्थ गएका
अरु पनि अलपत्र परे । घुमफिर, धर्मकर्म र रमाइलो गर्ने उदेश्यले गएका
सबैजना निराश र चिन्तित भए । तर यो निराशा र चिन्ता बेलुका भएपछि
खुशियाली र उमंगमा परिणत भयो ।
सिमलको फेदमा बास
शुक्रबार मध्यान्न १२ बजेतिर हरिद्वारमा श्राद्ध गर्दागर्दै यमनाथ
साथीहरुसँग छुट्नुभयो । कतै भेटिएला कि भनेर उहाँ त्यहाँबाट हिँडिरहनुभयो
। तर चिनेजानेका कोही भेटिँदैनन् । सबै नौला । नयाँ ठाउँ नयाँ मान्छे ।
आफूले बोलेको उनीहरु बुझ्दैनन् । उनीहरुले बोलेको आफूले बुझिन्न । झण्डै
दुईघण्टा हिँडेपछि सडक छेउमा ठूलो सिमलको रुख भेटियो । नजिकै बसपार्क पनि
थियो । यमनाथ त्यही सिमलको रुखमा बस्नुभयो । अब हिँड्न भन्दा बसिरहन
उहाँलाई ठीक लाग्यो । ढाका टोपी र सुरुवाल लगाएका बृद्ध यसरी बसेको देखेर
नजिकै काम गर्ने दुईजना भारतीयले सोधीखोजी गरे । तर उनीहरुलाई नेपाली
भाषा आउँदैनथियो । वृद्ध यमनाथलाई पनि हिन्दी नआउने । भाषा नबुझेपनि
कुराकानी हुँदै जाँदा बृद्ध नेपाली रहेको र साथीहरुसँग छुटेको कुरा ती
दुई भारतीयले बुझे । अनि उनीहरुले बृद्धलाई रोटी खान दिए र घरतिर लागे ।
त्यो रात बृद्ध त्यही रुखको फेदमा बस्नुभयो । साथीहरु खोज्दै आउलान् कि
भनेर बाटो हेरिरहनुभयो । बिहान उज्यालो नहुँदासम्म उहाँका आँखा खुलै थिए
। तर साथीहरु कतै देखिएनन् । बृद्ध त्यहीँ बसिरहनुभयो । भोलिपल्ट बिहान
फेरि त्यही दुईजना भारतीय त्यहाँ आए । बृद्ध अझै त्यहीँ बसेको देखेर अब
चाहिँ उद्दार गर्नुपर्छ भन्ने उनीहरुलाई लाग्यो । दयालु मन भएका ती दुईले
आफ्ना साथीहरुसँग पैसा उठाए । बृद्धलाई नेपाल फर्काइदिने पहल शुरु भयो ।
त्यहीबेला एकजना नेपाली त्यहाँ पुगे । उनले नेपालबाट तीर्थ आएका केही
मान्छे नजिकै रहेका र बृद्ध उनीहरुकै मान्छे हुन सक्ने बताए । त्यसो भए
एकपटक त्यहाँ जाने र नभए बृद्धलाई जसरी पनि नेपाल फर्काउने भन्दै उनीहरु
हरिद्वारको एउटा धर्मशालामापुगे । जहाँ हराएका यमनाथलाई खोज्दाखोज्दै
नभेटेर थकित र निराश भएका आफन्त र छरछिमेकी थिए । राति सुत्नै लाग्दा
दुईजना भारतीयको साथमा हजुरबा लुखुरलुखुर आइरहेको देखेर सबै छक्क परे ।
'लौन हजुरबाकहाँ जानुभएको थियो, कसरी यहाँसम्म' भन्दै सबैले हजुरबालाई
अँगालो मारे । हर्षको आँशु झारे ।
हजुरबालाई फेला पारेर त्यहाँसम्म ल्याईदिने ती दुई दयालु भारतीय देवता
जस्तै भए । उनीहरुको सम्मानमा त्यहाँ अबीरजात्रा भयो । 'हामीले दोसल्ला
ओढाएर एकएक हजार रुपैंया पनि दियौं' भतिजा रामप्रसादले भन्नुभयो-'साँच्चै
उनीहरु हाम्रा लागि देवता जस्तै ठहरिए ।'
हराएका हजुरबा भेटिएपछि तीर्थयात्रीले आइतबार बिहानैदेखि आफ्नो घुमघामलाई
निरन्तरता दिएका छन् ।
source onlnekhabar.com

No comments:

Post a Comment