Friday, May 10, 2013

निरासाले आत्महत्या बढ्दो

२७ वैशाख, सुर्खेत । 'आमा ! यसअघि तपाइँहरुबाट भएका कुटपिट र गाली सहँदै
आएकी थिएँ, तर अब त अति नै भयो, म सहनै सक्दिनँ, त्यसैले म आत्महत्या
गर्न बाध्य छु ।' आत्महत्या गर्नुअघि वीरेन्द्रनगरकी ११ वर्षीया बालिकाले
कागजको पानामा लेखेर छाडेको चिठीको ब्योहोरा हो यो । बजार जान अनुमति
माग्दा आमाबाट अनुमति नमिलेपछि बालिकाले आत्महत्या गरेकी हुन् ।दुई
हप्ताअघि ९ कक्षाको परीक्षामा असफल भएपछि १४ वर्षीया बालिकाले पनि अन्तिम
विकल्प आत्महत्या रोजिन् । उनले पढाइमा असफल भएपछि निरास भई आत्महत्याको
बाटो अपनाइन् ।यी केही प्रतिनिधि घटना मात्र हुन् । निरासा र मानसिक
रोगका कारण आत्महत्याका घटना बढ्दो क्रममा छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नौ महिनायता दर्ता भएका मामिलामध्ये
धेरैजसो आत्महत्याका छन् । कार्यालयका अनुसार दुई सय ४१ मध्ये ६०
आत्महत्याका मामिला छन् ।आत्महत्या गर्नेमध्ये धेरैले झुण्डिनेगरेको
प्रहरीको विवरणमा देखिन्छ । कार्यालयका अनुसार साउनयता ४५ जनाले झुन्डिएर
आत्महत्या गरेका छन् । त्यसैगरी १२ जनाले विष सेवन गरेर, दुईजनाले पानीमा
डुबेर र एकले चक्कु धसेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी
कार्यालयका एसपी सुनिल यादवले आत्महत्याको प्रमुख कारण 'निरासा' रहेको
बताए । कार्यालयमा आएका आत्महत्याका मामिलाबारे अध्ययन गर्दा गरिबी,
असफलता, घरेलु हिंसा प्रमुख कारण रहेको पाइएको उनको भनाइ छ ।आत्महत्या
गर्नेमा १५ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी छन् । त्यसमा पनि महिलाको
सङ्ख्या बढी छ । महिला र बालबालिका सामाजिक रुपमा असुरक्षित हुने हुँदा
यस्ता घटनाबाट उनीहरु बढी प्रभावित हुने गरेका यस क्षेत्रमा कार्यरत
व्यक्तिहरु बताउँछन् ।महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी
संस्था सुरक्षित समाजकी मनोविमर्शकर्ता बिमला डाँगी सामाजिक तथा
व्यावहारिक तनावले आत्महत्याका घटना हुने गरेका बताउँछिन् ।
उनका अनुसार विशेष गरी किशोरकिशोरीहरु आफ्ना माग पूरा नहुँदा आत्महत्याको
विकल्प रोज्ने गर्छन् । यस्तो अवस्थामा उनीहरुका अभिभावकले समस्या पहिचान
गरी मनोसामाजिक विमर्श गर्नुपर्ने उनको सुझाव छ ।कतिपय अवस्थामा घरेलु
हिंसाका कारण पनि महिला आत्महत्या गर्न विवश हुने गरेका उनले बताइन् ।
उदासीनता पनि आत्महत्याको प्रमुख कारणका रुपमा रहेको छ । जिल्ला
स्वास्थ्य कार्यालयका मानसिक स्वास्थ्यका फोकल पर्सन बसन्त श्रेष्ठ
उदासिनतालगायत मानसिक रोगबाट ग्रसित हुनेले आत्महत्या रोज्छन् । उनका
अनुसार जिल्लामा झण्डै ४०० व्यक्तिमा मानसिक समस्या रहेको छ । तीमध्ये ९५
जना उदासीनताका बिरामी उपचाररत छन् । रासस

No comments:

Post a Comment