Tuesday, May 7, 2013

श्रमदान नगरे तीन पुस्तासम्म सेवा सुविधा नपाइने

२४ वैशाख,रुकुम । रुकुममा एक गाउँका गाउँलेले गाउँ विकासको लागि श्रमदान
नगर्नेलाई गाउँका कुनै पनि सार्वजनिक सेवा उपभोग गर्न नदिने नियम बनाएका
छन् । पिपल गाविस वडानम्बर ८ का स्थानीयले निर्माणाधीन छिप्राखोला लघु
जलविद्युत् आयोजनामा श्रमदान नगर्ने उपभोक्ताहरुलाई त्यसबाट उत्पादित
विद्युत्लगायतका सेवा रोक्ने निर्णय गरेका हुन् ।
सरकारको तर्फबाट करिब ५० लाख रुपैयाँअनुदान पाएको आयोजना सम्पन्न गर्न
झन्डै २० लाख रुपैयाँ बरावरको श्रमदान स्थानीयले गर्नुपर्ने भएपछि सबैको
सहमतिबाट श्रमदान नगर्नेलाई तीन पुस्तासम्म बिजुलीलगायतका अन्य सेवा
सुविधाबाट वञ्चित गर्ने निर्णय भएको मुल समिति अध्यक्ष हेमन्त पौडेलले
बताउनुभयो । नब्बे घरधुरी रहेको त्यस वडाका केही उपभोक्ता श्रमदानमा
सहभागी हुन नमानेपछि मुल समिति, आयोजना निर्माण समिति र उपभोक्ताहरुको
सयुंक्त भेलाले सेवा सुविधा रोक्ने निर्णय गरेको अध्यक्ष पौडेलले
बताउनुभयो । गत फागुन महिनाबाट निर्माण थालिएको आयोजनाको झन्डै ४०
प्रतिशत काम सम्पन्न भइसकेको समितिले जनाएको छ । हाल नहर निर्माणको काम
तीव्ररुपमा भइरहेकोे छ । मुल समितिका सचिव देवीलाल गौतमले दिनुभएको
जानकारी अनुसार आगामी असार महिना भित्रै आयोजना पुरा गर्ने लक्ष्य छ ।
छिप्राखोलाको पानीबाट निर्माण थालिएको आयोजनाबाट १९ किलोवाट विद्युत्
उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणपश्चात त्यसबाट उत्पादित
सबै विद्युत्को हकदार पनि स्थानीयनै हुनेछन् । विद्युत् महशुल सङ्कलन र
परिचालनको सबै अधिकार सोही वडाका उपभोक्ता माथि नै हुने भएपछि उनिहरु थप
उत्साहित भएका छन् । रासस

No comments:

Post a Comment