Sunday, April 28, 2013

उपहार पाउने लोभमा डुव्यो २३ लाख

१६ वैशाख, काठमाण्डौं । विभिन्न इमेल आईडीबाट एसएमएस पठाएर नक्कली चिट्ठा
परेको भन्दै रकम ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको
छ । नाइजेरियन नागरिक फेमी इमान्युवल अजवेद र नेपाली नागरिकहरू केदार
क्षत्री, दीपक शर्मा र प्रकाश रानाले विभिन्न व्यक्तिको मोबाइलमा म्यासेज
पठाएर तपाईंलाई ठूलो धनराशिको चिट्ठा परेको भन्दै २३ लाखभन्दा बढी ठगी
गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
सो समूहले महाराजगन्ज बस्ने राजकुमार श्रेष्ठको मोबाइल नम्बर ९८४१–५४२७६६
मा तपाईंको मोबाइल नम्बरले थाइल्यान्ड मोबाइल अवार्ड जितेको भन्दै रकम
ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
विजयलाल कायस्थले जानकारी दिएको राजधानी तथा नयाँ पत्रिकामा खबर छ ।
सो गिरोहले गत १० चैत मा ५६७ बाट उनको मोबाइलमा एसएमएस गरी ४ करोड २०
लाखको चिट्ठा परेको जानकारी गराएको थियो । सो गिरोहले सुरुमा सो चिट्ठा
परेको जानकारी गराउँदै अवार्डका लागि सबै विवरण उपलब्ध गराउन पुनः इमेल
गरेको जानकारी दिए । सो गिरोहले सो रकमलिन १२ चैतमा रकम प्राप्त गर्न
सायम कमर्सियल बैंकको remittance@thaoscbonline.comमा बैंकको
निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । चिट्ठा परेकामा खुसी भएका
श्रेष्ठले सो इमेलमा उल्लेख भएअनुसार २९ चैतमा २३ लाख ६७ हजार रुपैयाँ
पठाएका थिए ।
सो रकम पठाइसकेपछि पनि पुनः १० लाख रुपैयाँ माग गरेपछि उनले आफू ठगिएको
आशंका गरी प्रहरीलाई खबर गरेका थिए । ठगिएको आशंकामा प्रहरीकहाँ पुगेका
श्रेष्ठलाई प्राप्त मेलआईडीबाट खोजी गर्दै जाँदा ठग्ने गिरोह पक्राउ
परेको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि विभिन्न व्यक्तिलाई ठगी
गरेको अभियोग लागेका अभियुक्तलाई प्रहरीले यसअघि पनि खोजी गरिरहेका
व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ । लामो समयदेखि नेपाल बस्दै आएका
नाइजेरियन अजवेद नेपाल–भारतलगायतका विभिन्न ठाउँमा यस्तै प्रकारको ठगीमा
संलग्न रहँदै आएको दाबी प्रहरीले गरेको छ ।

No comments:

Post a Comment