Monday, April 22, 2013

अन्तर्राष्ट्रिय उडानमा एक तिहाइ यात्रु नेपाली कामदार, कामदारबाट ९ महिनामा ९० करोड ठगी

१० वैशाख, काठमाण्डौं । अन्तर्राष्ट्रिय उडानमा करिब एक तिहाइ यात्रु
रोजगारीका लागि विदेसिने नेपाली युवा हुने गरेको पाइएको छ ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय उडान भिजिट, विद्यार्थी र कामदार भिसामार्फत
विभिन्न मुलक १५ लाख ४६ हजार २ सय ९२ जना बाहिरिएका थिए, भने सोहीअवधिमा
५ लाख ३४ हजार नेपाली कामका लागि विदेसिएका थिए । २०१२ मा ३ लाख ८४ हजार
नयाँ र विदेशबाट फर्की पुनः श्रम स्वीकृति लिएर १ लाख ५० हजार कामदार
विदेसिएका छन् । खाडी मुलुक र मलेसिया जाने अधिकांश उडानमा नेपाली कामदार
बढी हुने गरेको कारोबार दैनिकमा खबर छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले
अन्तर्राष्ट्रिय उडानमा अधिकांश यात्रु विदेश जाने नेपाली कामदार हुने
गरेको बताए ।
विदेश जाने कामदारबाट ९ महिनामा ९० करोड ठगी
वैदेशिक रोजगारीमा पठाउने नाममा ९ महिनाको अवधिमा ९० करोड रुपैयाँ
बराबरको ठगी भएको पाइएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा
सोबराबरको रकम ठगी भएको पाइएको हो । वैदेशिक रोजगार विभागका अनुसार
वैदेशिक रोजगारीका नाममासंस्थागत र व्यक्तिगत गरी ९० करोडबराबरको रकम ठगी
भएको दाबीसहित उजुरी परेको छ । ९ महिनामा ८९ करोड ९४ लाख ५८ हजार ३ सय ३७
रुपैयाँ ठगी भएको विभागको भनाइ छ । सो रकम बिगो दाबीसहित विभागमा १ हजार
६ सय ५४ ओटा उजुरी परेका छन् ।
ती उजुरीमध्ये सबैभन्दा बढी व्यक्तिगत ठगीसँग सम्बन्धित छन् । व्यक्तिगत
रूपमा रोजगारीमा पठाउने बहानामा ठगिएका ९ सय ४० ओटा उजुरी विभागमा परेका
छन् । ती उजुरीमा मात्र ६२ करोड ३६ लाख ९६ हजार २ सय ७ रुपैयाँ ठगी भएको
बिगो दाबीसहित उजुरीपरेको विभागले जनाएको छ । सरकारले रोजगारीका नाममा
व्यक्तिगत ठगी बढ्दै गएकाले नियन्त्रण अभियान सुरु गरे पनि त्यसमा कमी
आउन सकेको छैन । तर, व्यक्तिगतका तुलनामा संस्थागत (म्यानपावर एजेन्सी)
को ठगी भने कम रहेको विभागले जनाएको छ ।
चालू आवको चैत मसान्तसम्ममा संस्थागत रूपमा २७ करोड ५७ लाख ६२ हजार १ सय
३० रुपैयाँ ठगी भएको छ । सो रकम बिगो दाबीसहित ७ सय १४ ओटा उजुरी विभागमा
परेका छन् । चालू आवको चैतमा मात्र वैदेशिक रोजगारीका नाममा करिब १३ करोड
रुपैयाँ ठगी भएको छ । सो रकम बिगो दाबी गर्दै २ सय २८ ओटा उजुरी विभागमा
दर्ता भएको राजधानी दैनिकमा खबर छ । चैत महिनामा रोजगारीमा विदेश पठाउने
भन्दै व्यक्तिगत रूपमा ९ करोड २० लाख ६५ हजार ८ सय ९० र संस्थागत रूपमा ३
करोड ६१ लाख ८० हजार ८ सय १३ रुपैयाँ ठगिएको बिगो दाबीसहित उजुरी परेको
विभागले जनाएको छ ।
चैतमा व्यक्तिगत ठगीका १ सय १६ र संस्थागत ठगीलाई लिएर १ सय १२ ओटा उजुरी
दर्ता भएका छन् । संस्थागत ठगीका घटना अनुसन्धानमा सहज हुने र फरफारकसमेत
चाँडै हुने भए पनि व्यक्तिगत ठगी जटिल बन्दै गएको विभागको भनाइ छ ।
विभागका महानिर्देशक विनोद केसी रोजगारीमा जाने व्यक्तिमा सचेतना, क्षमता
र योग्यता कम हुने कारणले वैदेशिक रोजगारीका नाममा ठगी हुने गरेको
बताउँछन् । जिल्ला स्तरसम्म सचेतना पुर्याउने र संस्थागत रूपमा मात्र
रोजगारीमा जाने अवस्था भएमा ठगी नियन्त्रण हुने उनको भनाइ छ ।

No comments:

Post a Comment