Sunday, May 5, 2013

'माओवादीले संविधान बनाउनु र बाँदरले कुन्यु ठड्याउनु उस्तै'

भोजपुर , वैशाख २२ - एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादी जनयुद्ध र
माओवादीको सिद्धान्त असफल भइसकेको टिप्पणी गरेका छन् । एमाओवादीका
अध्यक्ष पुष्पकमल दाहालप्रति व्यङ्ग्यात्मक प्रश्न गर्दै भने, 'नेपाली
जनतालाई मुक्ति दिने प्रचण्डपथ खोई ? एक्काइसौं शताव्दीको जनवाद खोइ ?'
नेकपा एमालेको सातौं जिल्ला अधिवेशन उदघाटन गर्दै आइतबार उनले संविधानसभा
निर्वाचनको गलत परिणाम आएकोले संविधान नबनेको टिप्पणी गरे । ओलीले
माओवादीले लडाकु, वाइसिएल, हिंसाकारी गुरिल्लाहरुको जबरजस्त दवावको कारण
एक तिहाई बहुमत ल्याएको आरोप लगाए ।
उनले जनयुद्धको नाममा स्थापित गरेको सबैको मुक्तिदाता 'प्रचण्डपथ' को
सिद्धान्तसँगै माओवादी असफल भइसकेको बताए । गएको संविधानसभामा कुनै पनि
राजनीतिक शक्तिले दुई तिहाई बहुमत नल्याएकाले संविधान बन्न नसकेको बताए ।
'संविधान बनाउन दुई तिहाइ बढी मत प्राप्त शक्ति चाहिन्छ, गत संविधान
सभामा त्यस्तो शक्ति भएन,' नेता ओलीले भने, 'दुर्भाग्यवश माओवादीले एक
तिहाई बढी मत पायो, संविधान बनाउन सकेन ।'
ओलीले माओवादीलाई गाली गर्दै अतिवादी, उग्रपन्थी, वितण्डाकारी,
हिंसावादी, उरन्ठयौलो, एक दलीय, एकाधिकारवादी, र गिरोह भएको आरोप लगाए ।
संविधानसभामा माओवादी बहुमत 'बाँदरको खेताला' मात्र भएको व्याङ्ग्य गर्दै
भने, 'माओवादीले संविधान बनाउनु बाँदरको खेतालाले कुन्यु ठडयाउनु जस्तै
भयो ।
माओवादीले क्रान्तिको नाममा जनतालाई धेरै दुःख दिएको स्मरण गराउँदै
जनताको घरजग्गा कब्जा गर्ने, अर्काको सम्पति लुटने, मन नपरेकालाई
ढुङ्गाले किच्याउने, कुटने, यातना दिने, मार्ने, धम्की दिने, युवाहरुलाई
नकारात्मक क्रियाकलापतीर उक्साउने, अपराधिक गतिविधि गर्न लगाउने, तस्करी
गर्ने, सत्तामाबसेर नातावाद, कृपावाद, भ्रष्टाचार, अनियमितता गरेकोसमेत
आरोप लगाए ।
त्यसैले 'प्रचण्डपथ' जस्तै माओवादी असफल भएको बताए । 'प्रचण्डपथ अरुणको
किनाराको बालुवा जस्तै भयो, ओलीलेप्रश्न गर्दै भने, 'महान जनमुक्ति सेना
कहाँ गए ? कहाँ पुग्यो माओवादी जनयुद्ध ? डिपुटी कमाण्डरहरुलाई सोधनुस
त?'
पार्टीबाट अलग्गिएर सङ्घीय समाजवादी पार्टी स्थापना गरेका अशोक राई लगायत
नेता कार्यकर्तालाई 'हरियो वृक्ष रुपी एमाले पार्टीको पहेंलिएको पात'
मात्रै भएको बताए । उनले भने,'पहेंलिएर झरेको पात काम लाग्दैन ।'
उनीहरुलाई जातीय पहिचानको नाममा साम्प्रादायिक भडकाउ गर्न खोजेको आरोप
लगाए ।

No comments:

Post a Comment