Sunday, May 5, 2013

गोजी वा धोती नछामी प्रचण्डको हातबाट टीका थाप्न नपाइने

२३ वैशाख, सर्लाही । चुनावी माहोल बन्दै जाँदा एमाओवादीमा पार्टी प्रवेश
लहरजस्तै देखिएको छ । माओवादी अध्यक्ष प्रचण्ड जता जान्छन्, विभिन्न
पार्टीका कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउन भ्याई नभ्याई नै
हुन्छ । तर, प्रचण्डका हातबाट टीका लगाउन त्यति सजिलो भने छैन, एउटा जटिल
सुरक्षा जाँच उत्तीर्ण गरेपछिमात्रै टीको थाप्न पाइन्छ ।
शनिबार सर्लाहीको हरिवन आएका प्रचण्ड दिनभरजस्तै कांग्रेस, एमाले र
मधेसवादी दलका कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउन निकै व्यस्त
रहे । चर्को घाममा लाइन बसेर विभिन्न दलका कार्यकर्ता र सर्वसाधारण
एमाओवादीमा प्रवेश गरे । एमाओवादी नेताहरुको दाबीअनुसार हरिवनमा मात्र
एमालेका पूर्वजिल्ला सचिव रहिसकेका केशव ढुंगानासहित ५ हजार नेता
कार्यकर्ता एमाओवादी प्रवेश गरेका छन् । एमाओवादी प्रवेश गर्नेहरु पनि
निकै खसी देखिन्थे, माओवादी सुप्रिमो प्रचण्डको हातबाट टीका लगाएर ।
कार्यक्रम सञ्चालक राजरिझन यादवले नाम भट्याएपछि जोसुकै लाइन बसेर
प्रचण्डको हातबाट टीका लागाउन पाउँथे । ती एमाओवादीकै कार्यकर्ता किन
नहुन् । तर, सर्त थियो, प्रहरी र एमाओवादी कार्यकर्ताको सुरक्षा जाँच पास
हुनुपर्ने । लाममा बसेका हरेकको चेकजाँच हुन्थ्यो । यतिसम्म कि एमालेका
पूर्वजिल्ला सचिव केशव ढुंगानाको पनि प्रहरी र एमाओवादी कार्यकर्ताले
राम्रैसँग खल्ती छामे ।
सुरक्षा जाँचको दृश्य हेर्दा लाग्थ्यो, एमाओवादी प्रवेश गर्नुभन्दा
सुरक्षा पास हुन पो गाह्रो रै'छ बा! सायद, भृकुटीमण्डपको चियापान
कार्यक्रममा पूर्वकार्यकर्ता पदम कुँवरले मच्चाएको बितण्डा प्रचण्ड
कामरेडले अझै भुल्न सकेका छैनन् क्यारे

No comments:

Post a Comment